सूचना प्रविधिको विकासक्रमसँगै मोफसलमा पनि प्रयोगकर्ता बढेका छन् । विशेषगरी विद्यार्थी, व्यापारी, सञ्चारकर्मी तथा 'टिनएजर' हरू यसतर्फआकषिर्त भेटिएका छन् । जसमध्ये अधिकांश च्याटिङमा सीमित छन् ।
वीरगन्ज सहरमा दैनिक ५ हजारभन्दा बढी ग्राहकले साइबर प्रयोग गर्ने गरेका छन् । यहाँस्थित एक दर्जन साइबरमा बारा र पर्साका युवायुवती तथा विद्यार्थीको भीड लाग्ने गरेको छ । यहाँ नेपाल टेलिकमका अलावा वर्ल्डलिंक, मर्कन्टाइल तथा एटीसीलगायतले इन्टरनेट सेवा उपलब्ध गराएको सेन्टर प्वाइन्ट साइबरका विकासजंग राणाले बताए ।
प्रयोगकर्तामध्ये अधिकांशले आफ्ना साथीहरूसँग च्याटिङ गरेर समय कटाउने गरेको साइबरवाला बताउँछन् । 'एमबीबीएस अध्ययनको तयारीमा आएको', १२ किलोमिटर पर जीतपुर बजारबाट वीरगन्ज आएका असरफ अलीले भने- 'किताबमा नभेटिएका कुरा यहाँ खोज्छु, अनि विदेशका कलेजबारे पनि खोज्दैछु ।
परीक्षाको रिजल्ट समयमै हेर्न पाइने तथा दरखास्त फारम र कोर्सबुकमा नेभेटिएका अध्ययन सामग्रीसमेत नेटबाटै डाउनलोड गर्न मिल्ने हुँदा यसतर्फआफू आकषिर्त भएको भनाइ उनको छ ।
पत्रकारका लागि पनि उत्तिकै आकर्षस्थल बनेको छ साइबर । पत्रकार महासंघका सभापति विनोद प्याकुरेल भन्छन्- 'फोटो पत्रकारका लागि त इन्टरनेट वरदान नै सावित भएको छ । बारा र पर्सामा कार्यरत दुइ दर्जनभन्दा बढी फोटो पत्रकारले साइबरको राम्रो उपयोग गरिरहेको उनले बताए ।
झापाको दमक बजारस्थित साइबरमा पनि घन्टौं बिताउनेको संख्या अत्यधिक रहेको पाइएको छ । त्यहाँस्थित कान्तिपुर संवाददाताका अनुसार डेढ दर्जन साइबर क्याफेमा युवायुवतीको भीड नै लाग्ने गरेको छ । 'लाहुरे' को बाक्लो बस्ती रहेको यस बजारमा विदेशिएका आफन्तसँग भिडियो च्याट गरेर मख्ख पर्ने बूढाबूढीको संख्या पनि अधिक छ ।
लहानमा युवायुवतीले भने अश्लील तस्बिरको खोजीमा बढी समय बिताउने गरेको त्यहा“स्थित संवाददाताले जनाएका छन् । पाँचवटा साइबर क्याफे रहेको यस बजारमा दैनिक ५ सयभन्दा बढीले इन्टरनेट प्रयोग गरेको अनुमान साइबर- वालाहरूको छ । यहाँका केही व्यापारी भने आफ्नो कारोबारसमेत नेटमार्फ गर्न थालेका छन् । लहानका पुर्बमेयर मुन्नी साह आफू अफसेट प्रेससम्बन्धी केही नयाँ प्रविधि आएका छन् कि भनेर खोज्न बसेको बताउँछन् । लहान प्राविधिक शिक्षालयमा अध्ययनरत बाग्लुङका प्रमोद गिरी भने आफूले प्रविधिका नयाँ पाटा नेटमार्फ जान्न साइबर बसेको बताए ।
चितवनस्थित संवाददाताका अनुसार यहाँ व्यापारिक प्रयोजनका लागिसमेत नेटको सहारा लिन थालेको पाइएको छ । युवा पुस्ताले भने समुद्रपार अध्ययन उपायबारे घन्टौं खोजतलास गर्ने गरेका छन् । र् पर्यटकीय सहर पोखरामा पनि इन्टरनेट लोकप्रिय हुँदैछ । यहाँका साइबर क्याफेमा स्थानीय युवायुवतीदेखि पर्यटकसमेतको घुइँचो लाग्ने गरेको छ । यसका अलावा यहाँका साइबरले वेबसाइटमार्फ पोखराको चिनारी र यस भेगका मोडलको परिचय बनाउने काममा जुटेका छन् । 'लभ्ली पोखरा डट कम' यहाँको प्रिय वेबसाइट हो ।
Source: ekantipur.com
No comments:
Post a Comment