Tuesday, January 09, 2007

नेपालमा सूचना प्रविधि ह्वात्तै

काठमाडौं, पुस २४ - गुगलमा नेपाल खोज्नुभयो भने १० करोड नतिजा भेट्नुहुनेछ । केही वर्षअघिसम्म इमेलमात्रै गर्ने या अरूका साइटमा दर्शकमै सीमित हुने नेपाली इन्टरनेट प्रयोगकर्ताहरू अहिले आफैं सामग्री निर्माण र तिनको नियन्त्रण गर्छन् ।
बितेका दुई वर्षमा नेपाली प्रयोगकर्ताले इन्टरनेट एउटा मीठो धक्का दिएका छन्, जसका कारण कम्प्युटरहरूको विश्वव्यापी सञ्जालमा नेपालको प्रतिनिधित्व ह्वात्तै बढेको छ । उत्सव पोखरेल या अर्चना श्रेष्ठ कुनै पत्रिका, टीभी या रेडियोका मालिक होइनन् । यी तन्नेरी ब्लगरले कोठामै बसेर लेखेका कुरालाई दैनिक थुप्रैले पढ्छन् । 'यो ब्लगमात्रै होइन,' 'आफ्नो कुरा' शीर्षकको वेबसाइटमा उत्सव लेख्छन्- 'मेरो साथी पनि हो, जोसँग मैले आफ्ना मूर्ख कुरा र भावना साझेदारी गर्न सक्छु ।' उनले 'युनाइटेड बी ब्लग' -ब्लग डटकम डटएनपी) मा प्रकाशित गरेको 'नेपाली शान्ति प्रक्रियाका सम्भावित चुनौती' लेखले अरू ब्लगरहरूको ध्यान कतिसम्म खिच्यो भने एउटा गर्मागर्मी बहस कैयौं दिन चल्यो ।

कम्प्युटर साक्षर र इन्टरनेटमा पहुँच भएका नेपालीको संख्या बढिरहँदा अभिव्यक्ति, सूचनाको साझेदारी र द्रुत सञ्चारका क्षेत्रमा नेपालले यसअघि कहिल्यै अनुभव नगरेको रोमाञ्चकारी परिवर्तन भइरहेको छ । 'हिजो कम्प्युटरलाई छुँदा ए नचलाऊ बिग्रन्छ भन्थे,' कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान) का अध्यक्ष विप्लवमान सिंह भन्छन्- 'कम्प्युटरमा भाइरस लाग्ने डरमा जुत्ता खोलेर खुट्टा धोएर कोठामा पसिन्थ्यो । अहिले -सहरका) हरेक स्कुल र अफिसमा कम्प्युटर छन्, सहरका गल्लीमा साइबर क्याफेहरू छन् जहाँ मानिस भिडियो च्याट गर्छन् । समाजमा कम्प्युटर नयाँ र भयानक चिज होइन, बरु नभइनहुने साधन हो भन्ने महसुस भइरहेको छ ।' त्यही महसुसलाई बर्सेनि ऊर्जा थप्दै आएको सूचना प्रविधि मेला मंगलबार राजधानीमा सुरु हुँदैछ । 'क्यान इन्फोटेक २००७' ले सूचना, मनोरन्जन र सञ्चारलाई आफ्नो नारा बनाएको छ । इमेलमार्फत हुने सञ्चारपछि सम्भवतः मनोरन्जनकै प्रभुत्व छ इन्टरनेटमा । प्रमाण ? लेग्रो तान्दै 'आँखाभरि आँसु किन' भन्ने एउटै गीतबाट सेलिबि्रटी भएका जविकलाई खोज्नुस्, त्यो गीतको तीनवटा भिडियो युट्युव डटकममा पाउनुहुने छ भने दर्जनभन्दा बढी साइटहरूमा उक्त गीतका एमपीथ्री, गायकका पोज पोजका तस्बिर, खुलस्त अन्तर्वार्ता, जानकारीमूलक प्रोफाइलहरू पाउनुहुनेछ । कुनै समयमा सीमित ट्रेकिङ व्यवसायीहरूले विदेशी पर्यटक आकषिर्त गर्न खोल्ने अल्छिलाग्दा साइटहरूको तुलनामा अहिलेका चमकधमकयुक्त साइटले दर्शकलाई कम्प्युटरभित्रै छिरौं जस्तो पारिदिन्छन् । साइबर संसार डटकममा मोडलका तस्बिर हेर्नुभएको छ ?

प्रविधि र कम्प्युटरप्रति नेपालीहरूको आकर्षण कतिसम्म बढेको छ भन्ने नाप्न क्यान इन्फोटेकमा गए हुन्छ । 'पोहोरको भीड १२ वर्षे पनौती मेलाभन्दा

-ठूलो) थियोे,' 'फेरि क्यान इन्फोटेक' शीर्षकको आफ्नो ब्लगमा आफू मुस्कुराईरहेको तस्बिर छाप्दै अर्चना श्रेष्ठले लेखेकी छन्- 'केटाहरूको ध्यानचाहिँ स्टलका केटीहरूतिरै ।'

दिनेश वाग्ले

No comments: